Logo २ पुस २०८२, बुधबार | Thu Dec 18 2025


५० लाख मान्छे र ६ लाख सवारीसाधनको दैनिक भागदौड हुने उपत्यका कति सुरक्षित ? (भिडियो)


0
Shares

काठमाडौं, जेठ २३ । वर्षेनि दर्जनौं दिवस मनाइने नेपालका लागि वातावरण दिवस पनि एउटा परम्परा धान्ने मेलोभन्दा खाशै फरक देखिएन । हरेक वर्ष वातावरण दिवस मनाउँदै गरिए पनि देशको राजधानी काठमाडौंको वातावरण भने दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ ।

करिब ५० लाख मान्छे बस्ने काठमाडौं उपत्यकाभित्र दैनिक ६ लाखको संख्यामा सवारी साधनहरु ओहोर–दोहोर गर्दछन् । कंक्रिटले लगभग भरिएको उपत्यकाभित्रको वातावरणलाई यही विकासले विनासतर्फ धकेलिरहेको छ । पछिल्लो एक दशकमा उपत्यकाको वातावरण ज्यादै प्रदुषित बन्दै गएको छ ।

विज्ञहरु भन्छन्, ‘काठमाडौंको जमिनले धान्नै नसक्ने मान्छे र सवारी साधन अनि घर निर्माण, यी माध्यमबाट निस्कने विभिन्न खाले फोहोर उपत्यकाको वातावरण प्रदुषित बनाउने मूख्य कारण हुन् ।’

फलस्वरुप, उपत्यकाका मानिसहरुमा वातावरणजन्य प्रदुषणबाट लाग्ने स्वास प्रश्वासजन्य रोगको जोखिम उच्च छ । काठमाडौं खाल्डोभित्रको वायुमण्डल तथा वातावरणमा रुमलिने प्रदुषित हावाको निकास पनि त्यति सहज छैन । हावाहुरी वा ठूलो वर्षा भएमात्रै तत्कालका लागि यहाँको वातावरण केही सफा हुने गर्दछ । तर पुनः धुवाँ, धुलो र फोहोरको चक्रले यहाँको वातावरण तुरुन्तै पुरानै अवस्थामा फर्कने गरेको छ ।

छुट्टै वातावरण मन्त्रालय नै खडा गरिएको भएपनि सरकारले वर्षमा एकपटक वातावरण दिवस मनाउने बाहेक वातावरण सुधारका लागि खाशै काम गर्न सकेको छैन । जसका कारण यहाँको अवस्था निकै जोखिमपूर्ण बनेको वातावरण बचाउको क्षेत्रमा लागेकाहरुको भनाई छ ।

पछिल्लो एक दशक यता विकासका नाममा मानवले नै निम्त्याएका विभिन्न खाले समस्याबाट वातावरण बिग्रिरहेको छ । धनी राष्ट्रहरुले बिग्रँदो वातावरणलाई जोगाउनका लागि ठूलो रकम खर्च गर्ने गरेको भएपनि नेपालजस्तो विकासोन्मुख देशमा कार्वन उत्सर्जन तथा अन्य वातावरणीय प्रदुषण कम गर्न उल्लेख्य काम गरेको पाईदैन ।

त्यसो त वातावरण जोगाउने तथा यसलाई चुस्त दुरुस्त राख्ने भनेर बेला बखत सरकारी तथा गैरसरकारी संघसंस्थाले तारे होटलहरुमा सभा, समारोह पनि नगर्ने होइन । तर त्यस्ता सभा, समारोहले आयोजकको आर्थिक अवस्थामा सुधार बाहेक कुनै ठोस कामहरु भएको पाइदैन । त्यसैले कम्तीमा हरेक वर्ष दिवस मनाउने र त्यहाँ गरिने प्रतिबद्धतालाई मात्रै व्यवहारमा कार्यान्वयन गर्न सकियो भनेमात्रै पनि वातावरणजन्य जोखिम नबढ्ने विज्ञहरु बताउँछन् ।

जहिलेसम्म कथनी र करनीमा एकरुपता आउँदैन, तबसम्म दिवस केवल दिवसमै सिमित रहन्छन् । त्यसैले मानव स्वास्थ्य र सिँगो मानव समुदायको प्रत्यक्ष जीवन चक्रसँग जोडिएको वातावरणलाई जोगाउने तथा स्वच्छ राख्ने विषयमा भोलिको भाका राख्ने होइन, आजै सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी कदम चाल्नु आवश्यक छ ।