
काठमाडौं, जेठ २४ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण विभागले पछिल्लो समय नेपालमा अर्नाको संख्यामा बृद्धि आएको जनाएको छ ।
विभागले दिएको तथ्यांकअनुसार वि.सं. २०७० को तुलनामा एक सयभन्दा बढी संख्यामा बृद्धि आएको उल्लेख छ ।
कोसी टप्पु वन्यजन्तु आरक्ष, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्र्धन आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, मध्यवर्ती क्षेत्र सामुदायिक वन र भगवतीप्रसाद गुल्मको सहयोगमा चैत र वैशाखमा गरिएको अध्ययनले अर्नाको संख्या बढेको देखाएको हो ।
विभागका सूचना अधिकारी नारायण रुपाखेतीले एक वर्षसम्मको बच्चा ८१, दुई वर्ष उमेरका ३५, अर्धवयस्क १४, वयस्क पोथी १८२ र वयस्क भाले १२० गरी ४३२ ओटा अर्ना रहेको जानकारी दिए ।
उनले भने–‘अर्ना विश्वकै सबैभन्दा धेरै भारतको काजिरंगा राष्ट्रिय निकुञ्जमा पाइन्छ । त्यसपछि नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षण केन्द्र हो ।’
विश्वमा नेपाल, भारत, भुटान, कम्बोडिया अर्ना पाइने महत्वपूर्ण देश हुन् ।
नेपालमा २०३२ सालदेखि अर्नाको संख्या गणना गर्न थालिएको थियो । सुरुमा ६३ ओटा अर्ना रहेकामा हाल बढेर ४३२ पुगेको हो ।
वि.सं. २०३२ को गणनाका आधारमा हेर्ने हो भने यो वार्षिक ७.२७ प्रतिशत बृद्धि हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले अर्नालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्