Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक : चिकित्सक


0
Shares

काठमाडौं, जेठ २४ । वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

उनको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सोमबार पत्रकारसम्मेलन गरी उनको स्वास्थ्यस्थितिबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा. चक्रराज पाण्डेले भने–‘उहाँको स्थिति साह्रै नाजुक छ । उहाँलाई भेन्टिलेटरमा राखेर हामीले जतिसक्दो उपचार गरिराखेका छौं । दिनुपर्ने सेवा दिइराखेका छौं ।’

उनले गुरुङको रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उनको श्वासप्रश्वासमा जटिल समस्या आएको जानकारी दिँदै भने–‘कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।’

उनका जेठा र माइला सुपुत्र किशोर र राजु गुरुङले सोमबार केही सन्चारमाध्यममा निधन भएको भन्ने समाचारमा आएको कुरा निराधार भएको बताउँदै सन्चारमाध्यलाई संयमित भएर काम गर्न आग्रह गरे ।

राजुले भने–‘आज बाहिर आएका हल्ला निराधार हुन् । उहाँ अस्वस्थ हुनुहुन्छ तर जीवितै हुनुहुन्छ ।’

खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत् छन् ।