
काठमाडौं, जेठ २४ । गोरखा, फुजेलकी गंगामाया आधिकारीले आफ्नो छोराका हत्याराहरुलाई कारबाही गर्न सरकार र न्यायालयसँग माग गरेकी छन् ।
लामो समयदेखि वीर अस्पतालमा अनसनमा रहेकी अधिकारीले सोमबार अस्पतालमै पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन नभएको भन्दै चाँडै दोषीलाई कारबाही गर्न माग गरिन् ।
२०६१ साल जेठ २४ गते गंगामायाका कान्छा छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले चितवनमा हत्या गरेका थिए ।
आफूहरुले उक्त हत्यामा किटानी जाहेरी दिएका छविलाल पौडेल र रुद्र आचार्य अहिले पनि खुलमखुल्ला हिँडिरहेको भन्दै गंगामायाले हत्याराहरुलाई चाँडै कानुनको कठघरामा उभ्याउन माग गरिन् ।
सो अवसरमा मानवअधिकारकर्मी चरण प्रसाइँले माओवादी पार्टीका गृहमन्त्री भएको मौका छोपेर कृष्णप्रसादको हत्यासम्बन्धी मुद्दालाई कमजोर बनाउन खोजिएको दाबी गरे ।
छोराका हत्यारालाई कारबाहीको माग गर्नेक्रममै गंगामायाका श्रीमान् नन्दप्रसादको २०७१ साल असोज ६ गते अनसनकै सिलसिलामा निधन भएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्