१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


संसदमा गगनको गर्जनः सरकारको अहिलेको नारा फेरेर ‘समृद्ध दमक–सुखी केपी ओली ’ राख्न सुझाव


0
Shares

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई आफ्नो नारा फेरेर ‘समृद्ध दमक–सुखी केपी ओली’ राख्न सुझाव दिँदै व्यंग्य गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा नेता थापाले प्रधानमन्त्रीको कार्यालयले आफ्नो गृह जिल्लाका लागि योजना आयोगमा पठाएको फेहरिस्त पढेपछि यो सुझाव दिन मन लागेको बताएका हुन् ।

उनले अहिलेको सरकारलाई ‘महामहिम राष्ट्रपतिको सरकार’ भनेर व्यंग्य पनि गरे । नीति तथा कार्यक्रममा सरकारले राष्ट्रपतिमार्फत् मेरो सरकार भन्न लगाएपछि सर्वत्र आलोचना भइरहेको छ ।

अहिलेको सरकारले नीति तथा कार्यक्रममा पुराना कुरा फेर्ने मौका पाएको थियो तर पुरानै ढर्रामा हिड्यो उनले भने, नीति तथा कार्यक्रममा कपटपूर्ण, झूठा र भ्रामक कुरा मात्र छन् ।

उनले भने ‘कहीँ नीति छ, कार्यक्रम छैन, कहीँ कार्यक्रम छ, नीति छैन । अर्थतन्त्र संकट उन्मुख छ । राजश्व परिचालन लक्ष्यभन्दा धेरै कम छ । दीर्घकालीन खर्च हुने कार्यक्रमहरु थामिएको छ । स्रोत कहाँबाट जुटाउने सरकारलाई जानकारी छैन’ ।

कृषिमा देखिएको उपलब्धि प्रधानमन्त्रीका कारणले होइन भन्दै उनले औद्योगिक क्षेत्र झनै खस्केको तर सरकार ८ प्रतिशत आर्थिक वृद्धिदर किन हुन सकेन भन्ने समीक्षा नजुटेको पनि उनले बताए ।

आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको भिन्नता सरकारलाई थाहा नभएको भन्दै उनले शिक्षा क्षेत्रसम्बन्धि आफ्नै मन्त्रीको संयोजकत्वमा बनाइएको रिपोर्ट थन्काइएको बताए ।

नेता थापाले नीति तथा कार्यक्रमलाई अल्मलिएको निबन्धको संज्ञा दिँदै अभिलाष शून्य, सपनारहित रहेको टिप्पणी गरे ।

महामहिमज्यूका सरकारलाई केही प्रश्न छन् भन्दै उनले संवैधानिक आयोगलाई किचल्यो, के यो वर्ष पनि यस्तै रहन्छ? नागरिकका कानुन खोस्ने प्रयास भए । यो वर्ष पनि तपाईंको सरकारले यस्तै कुरालाई निरन्तरता दिन्छ ? भन्दै प्रश्न गरे ।

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन नबनाएको, कर्मचारी नपठाएको बरु स्रोत र साधन मुठ्ठी कसेर राखेको भन्दै नेता थापाले मुख्यमन्त्रीलाई अञ्चलाधीश र स्थानीय तहलाई विभागजस्तो व्यवहार गरेको आरोप लगाए ।

भ्रष्टाचार गर्नै दिन्नँ भन्दै कसम खाने प्रधानमन्त्रीले काण्डहरुको अनुसन्धान प्रभावित गर्ने गरी पहिले नै यो दोषी, यो निर्दोष भन्दै फैसला सुनाएको भन्दै आगामी वर्ष पनि यस्तै हुने हो भन्ने प्रश्न गरे ।