
काठमाडौं, जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार अपराह्न राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
नेपाली गीत–संगीतको क्षेत्रमा गुरुङले पुर्याएको योगदानको उच्चकदर गर्दै सरकारले राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो ।
स्वर्गीय गुरुङको पार्थिव शरीरमा उपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय झन्डा ओढाएका थिए भने नेपाली सेनाको एउटा टुकडीले अन्तिम सलामी दिएको थियो ।
पार्थिव शरीरमा गुरुङका छोरा किरण, राजु र शरदले संयुक्तरुपमा दागबत्ती दिएका थिए ।
आर्यघाटमा उपप्रधानमन्त्री सीपी मैनाली, मन्त्रीहरु तथा नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरुले गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
सेनाका मानार्थ महासेनानी, राष्ट्रियगानका संगीतकार र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपतिसमेत रहेका गुरुङलाई नेपाली सेनाले पनि विशेष सम्मान दिएको थियो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित सेनाका जर्नेलहरुले आर्यघाटमा पुगी श्रद्धाञ्जलि दिएका थिए ।
यसअघि, गुरुङको शव श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाभवन, कमलादीमा राखिएको थियो । विभिन्न क्षेत्र तथा तह र तप्काका व्यक्तिहरुले प्रज्ञाभवन पुगी स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जलि दिएका थिए ।
वरिष्ठ संगीतकार गुरुङको उपचारकाक्रममा मंगलबार बिहान निधन भएको हो । गुरुङको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचकारकाक्रममा ७९ वर्षको उमेरमा निधन भएको हो ।
अम्बर गुरुङका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
गुरुङले संगीत र स्वर दिएको ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीत सेनाको सैनिकगान हो ।
तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङको पालामा ‘रातो र चन्द्र सूर्य’लाई सैनिकगान बनाउने निर्णय भएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्