
काठमाडौं, जेठ २५ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सबै भाषाभाषी, सांस्कृतिक एकतालाई सम्बोधन गर्ने संविधान बनाइनुपर्ने बताएका छन् ।
गठबन्धनद्वारा मंगलबारदेखि काठमाडौंको खुलामन्चमा सुरु रिले अनसनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा विभेदकारी व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताए ।
अन्तरिम संविधानमा व्यवस्था भएको समावेशीतालाई अहिलेको संविधानले न्यून बनाएको उनको आरोप थियो ।
‘सबै जातजातिले हाम्रो संविधान हो, भन्नका लागि अहिले भएका त्रुटि सच्याइनुपर्दछ’–संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने–‘संविधानमा भएका विभेदकारी धारा हटाइनुपर्दछ ।’
उनले द्रुतमार्गबाट ल्याइएको संविधानले आफूहरुको माग पूरा नगरेकाले स्वीकार्य नहुने बताए ।
संयोजक यादवले मुलुक अहिले संकटमा परेको बताउँदै अहिलेको सरकारले भ्रष्टाचार, कालोबजारी र तस्करलाई प्रसय दिएको आरोप लगाए ।
आफूहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने भन्दै उनले सहमतिको सरकारमा पनि सहभागी नहुने तर्क गरे ।
खुलामन्चमा मंगलबारदेखि सुरु भएको रिले अनसनमा राष्ट्रिय मधेस समाजवादी फोरमका अध्यक्ष शरत्सिंह भण्डारी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलगायत गठबन्धन आबद्ध दलका ३० जना रिले अनसनमा बसेका छन् ।
विभिन्न २६ बुँदे माग प्रस्तुत् गर्दै गठबन्धनका नेताहरुले मंगलबारदेखि खुलामन्चमा अनसन सुरु गरेका हुन् ।
प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म आगामी असार मसान्तसम्म अनसनमा बस्ने संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।
अनसनमा गठबन्धनमा आबद्ध २९ दल सहभागी छन् । रासस
प्रतिक्रिया दिनुहोस्