९ असार २०८२, सोमबार | Tue Jun 24 2025


पनामा पेपर्स प्रकरणमा २८ नेपालीमाथि छानविन सुरु


0
Shares

काठमाडौं, जेठ २६ । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ ।

अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समितिअन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानविन थालेको हो ।

समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।

समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) मार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए ।

उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् ।

समितिले प्रकरणमा मुछिएका व्यक्ति र कम्पनीको वित्तीय कारोबार, कर भुक्तानी र आफन्तको आर्थिकम गतिविधिमाथि निगरानी बढाएको छ । –नागरिक दैनिकबाट