काठमाडौं, वैशाख २३ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले टिप्पणी गर्ने क्रम जारी छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै टिप्पणी गरिरहेका छन् ।
यसै क्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम ‘सतही’ भएको टिप्पणी गरे । उनले गत वर्ष यही सरकारले ४३ पृष्ठ लामो १०३ बुँदासहितको नीति तथा कार्यक्रम ल्याएको स्मरण गर्दै तिनमा उल्लेखित कति कार्यक्रम कार्यान्वयन भए भन्नेबारे समीक्षा हुनुपर्ने बताए ।
अहिले सरकारले ४६ पृष्ठ लामो २०८ बुँदा समेटिएको नीति तथा कार्यक्रम ल्याएको चर्चा गर्दै उनले युरेनियमदेखि रेलसम्म छरपस्ट आयोजना समेटिएको जिकिर गरे । बेरोजगारी रहेसम्म देशबाट गरिबी हट्न नसक्ने प्रष्ट पार्दै उनले भने, ‘पाँच वर्षपछि रोजगारीका लागि विदेश जान पर्दैन भनेर घोषणा गरिएको थियो । कति व्यक्तिले विदेश जानु नपर्ने गरी मुलुकमा रोजगारी सिर्जना भयो भन्ने विवेचना गर्न जरुरी छ ।’
सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी, कामभन्दा प्रचार र प्रोपोगाण्डामा केन्द्रित रहेको उनको भनाइ थियो । ‘नीति र कार्यक्रम एक वर्षका लागि हो तर दुई वर्ष, चार वर्ष पछिका कार्यक्रमलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।
सरकारले प्रतिकुल तथ्यांक लुकाउने गरेको आरोपसमेत उनले लगाए । तथ्यांकमाथि राजनीतिक नगर्न उनले सरकारलाई सचेत गराए ।









प्रतिक्रिया दिनुहोस्