९ असार २०८२, सोमबार | Tue Jun 24 2025


नेपाली सेनाको बहादुरी: चट्टान तोडेर डोल्पामा गाडी गुडाउने तयारी(भिडियो हेर्नुहोस)


0
Shares

-संजीव बगाले, ईमेज

डोल्पा, जेठ २७ । डोल्पा भौगोलिक हिसावले नेपालको सबैभन्दा ठूलो जिल्ला हो तर आजसम्म डोल्पा सडक संजालसँग जोडिएको छैन् ।

नेपाली सेनाको जाजरकोट–डोल्पा–दुनै सडक निर्माण आयोजनाले डोल्पामा सडक जोड्न ठूला भीर फोड्ने काम गरिरहेको छ । जटिल भूबनोट हुँदा हुँदै पनि सेनाले छिट्टै डोल्पामा गाडी पुग्ने जनाएको छ ।

कर्णाली साच्चिकै दुर्गम छ । त्यसमाथि २१ औ शताब्दीमा समेत सडक सञ्जालले नजोडिएको जिल्ला कति दुर्गम होला सहजै अनुमान गर्न सकिन्छ । चारैतिर अत्यासलाग्दा भिराला चट्टानयुक्त पहाड अनि तल बगेको भेरी नदी यही हो यहाँको भौगोलिक परिचय हो ।

जसलाई छिचोलेर सडक पुर्‍याउन सहज छैन् । जाजरकोट सदरमुकाम खलंगादेखि डोल्पा सदरमुकाम दुनैसम्म ११७ किलोमिटरको दुरी छ । तर, सुखद् खवर ११७ किलोमिटर मध्ये १०२ किलोमिटर सडकको सेनाले ट्रयाक खोलिसकेको छ । रुकुमको मान्का बगरसम्म गाडी चल्न सक्ने अवस्था बनिसकेको छ । यद्यपी यो सडकको अझै स्तरोन्नती गर्न भने जरुरी छ ।

सेनाले यही आर्थिक बर्ष भित्र डोल्पालाई सडक सञ्जालबाट जोड्दै छ । रुकुम र डोल्पाको सिमामा भीर फोड्ने काम अन्तिम चरणमा पुगेको छ । त्यसपछि डोल्पाको त्रिबेणीमा सडक पुग्छ ।

यो ठाउँबाट पनि दुनै जोड्न ४१ किलोमीटरको बाटो छिचोल्नु पर्ने हुन्छ, जसको बीचबीचमा सडक खन्ने काम भइरहेको छ । अब १५ किलोमीटर सडक खन्न मात्र बाकी छ । तर यो ठाउमा २६ वटा ठुला ठुला भीर छन् ।

यसका लागि अझै ६० करोड रुपैया खर्च हुने सेनाको भनाई छ । छिटो भन्दा छिटो सडक पुर्‍याउने भनेर सबै पक्षले प्रतिबद्धता जनाएपनि यहाँको अति बिकट र जटिल भौगालीक अबस्था अनि समयमा बजेट उपलब्ध नगराउने सरकारी तरिकाले योजनाको काम लम्बिन सक्ने खतरा पनि उत्तिकै छ ।

तर यो डोल्पामा सडक पुर्‍याउन खटिएको सेनालाई कुनै पनि प्रकारको आर्थिक कठिनाई हुन नदिने र यसको स्तरोन्नतीको काम पनि गर्दे जाने संसदको बिकास समितिका सभापति रबिन्द्र अधिकारीको भनाई छ ।