
-केके मानन्धर, ईमेज
भक्तपुर, जेठ २७ । भक्तपुरमा हनुमन्ते खोलाको बहाव परिवर्तनको विवाद चरम विन्दुमा पुगेको छ । केही वर्षयता लगातार खोलाको वहाव परिवर्तनको प्रयास भइरहेको छ ।
एउटा पक्षले खोलामुनी परेको जमिनका लागि रातारात डोजर चलाएर चुनौति दिइरहेको छ भने अर्को पक्ष यसलाई कानुनी हवाला दिँदै विरोध गरिरहेको छ ।
भक्तपुरको हनुमन्ते खोलाको प्राकृतिक बहाव परिवर्तन गरी निजी जमिन संरक्षण गर्न खोजिएकोबाट विवाद सिर्जना भएको छ । खोला संरक्षण सरोकारवाला पक्षदेखि राजनीतिक दलका प्रतिनिधि र स्थानीयबासिन्दा कानुनको हवाला दिएर साविक धार यथास्थितिमा रहनुपर्ने तर्क गर्छन् ।
अर्को पक्ष जो आफ्नो जमिनलाई संरक्षण गर्न खोलाको साविक बहावलाई २०२१ सालको नापीअनुरुप गर्न माग गरिरहेको छ । सरकारी निकायका अधिकारीदेखि जिल्लाका राजनीतिक दलका नेता भने खोलाको वहाव परिवर्तन गर्न नहुने पक्षमा छन् ।
एउटा पक्ष जबरजस्ती खोला सार्ने पक्षमा देखिने र अर्को पक्षले त्यसको प्रतिरोध गर्दा पटकपटक झडपसमेत भएका छन् ।
कतिपय अवस्थामा खोला सार्ने विपक्षमा देखिएका सर्वसाधारणले सडक अबरुद्ध गर्नेदेखि सम्बन्धित निकायमा तालाबन्दी गर्नेसम्मका विरोधका कार्यक्रम गरिसकेका छन् । लामो समयदेखिको विवाद समाधान गर्न सम्बन्धित पक्षले बेलैमा चासो नदेखाए यसले ठूलो रुप नलेला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्