
काठमाडौं, जेठ २७ । विप्लव माओवादीले गरेको बन्दको प्रभाव मोफसलका जिल्लाहरुमा समेत परेको छ । बन्दका कारण धादिङ, चितवन, पोखरा, बुटवल, नवलपरासीलगायतका जिल्लाहरुमा समेत बिहानैदेखि सार्वजनिक यातायातहरु संचालन हुन सकेका छैनन् ।
बजार बन्द गराउँदै हिँडेका ८ जना माओवादी कार्यकर्तालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । नवलपरासीमा बन्दको प्रभाव आशिंक रुपमा परेको छ । बन्दका कारण बजार क्षेत्रका पसल व्यवसायहरु छिट्टफुट्ट रुपमा खुलेका छन् ।
भारतीय मालबहाक ट्रक र यात्रु वहाक वसलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याएको छ । यता, बन्दको अवज्ञा गरेको भन्दै रौतहटको चन्द्रपुर–६ स्थित राजमार्ग जंगलमा बन्दकर्ताले गुडिरहेको एक ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् ।
सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं आइरहेकोे ना ६ ख ४६१५ नम्बरको ट्रकमा पांच जनाको समुहले बम प्रहार गर्दा सहचालक बसन्त मगरको अनुहार जलेको छ ।
उता, पूर्वका मोरङ, झापा, पांचथर, इलाम , ताप्लेजुङलगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ । वन्द सफल पार्न हिडेका विप्लव नेतृत्वको पांचथरका नेकपा माओवादीको संगठन विभाग प्रमुख सहित दुई जनालाई पांचथरबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्