९ असार २०८२, सोमबार | Tue Jun 24 2025


ट्याक्सीमा पेट्रोल छर्केर आगजनी, माइक्रो, साझा बस, पर्यटक बस तोडफोड, ६७ जना पक्राउ


0
Shares

काठमाडौं, जेठ २७ । नेकपा माओवादीले विहीबार गरेको नेपाल बन्दकाक्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने काठमाडौंबाट २८, ललितपुरबाट १४, भक्तपुरबाट तीन, कास्कीबाट आठ, चितवनबाट एक, कालीकोटबाट १० र सुनसरीमा तीन गरी ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तीनकुने मुनिभैरव नजिक बा१ज ८२०६ नम्बरको ट्याक्सीमा ‘कलंकी जान्छु’ भनी चढेका दुईजना अपरिचित व्यक्तिले ट्याक्सी रोकी पेट्रोल छर्केर आगजनी गर्दा ट्याक्सीको भित्रिभाग पूर्णरुपमा जल्नुकासाथै सबै सिसा फुटेर क्षति भएको छ भने तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा१ज ८१३० नम्बरको माइक्रोबसमा ढुंगा प्रहार गर्दा अगाडि र साइडको सिसा क्षति भएको छ ।

बन्दकर्ताले त्रिपुरेश्वरमा बा३ख २२२७ नम्बरको साझा बसमा ढुंगा प्रहार गर्दा अगाडिको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, सुनसरीमा ना५ख २७१२ र ना४ख ७४०६ नम्बरको रात्रिबस, चितवनमा ना५ख १८२९, ना५ख ६२८८ र मे१ख २२२२ नम्बरको बस, झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा ना३ख ४६७१ नम्बरको गोलिया बोकेको ट्रकमा र पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग१प १७२ नम्बरको बसमा ढुंगा प्रहार गर्दा क्षति भएको प्रहरीले जनाएको छ । रासस