
इमेज जिल्ला ब्यूरो
काठमाडौं, जेठ २७ । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न जिल्लाहरुमासमेत परेको छ ।
बन्दका कारण धादिङ, चितवन, पोखरा, बुटवल, नवलपरासीलगायतका जिल्लाहरुमासमेत विहीबार बिहानैदेखि सार्वजनिक यातायातहरु सन्चालन हुन सकेका छैनन् ।
ट्रकमा पेट्रोलबम प्रहार, सहचालक गम्भीर घाइते
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा ट्रकमाथि पेट्रोलबम प्रहार गरेका छन् ।
बम प्रहारबाट सहचालक बसन्त मगर गम्भीर घाइते भएका छन् । उनको अनुहार र हात जलेको छ ।
चालक बलराम भण्डारीको हात र कपाल जलेको प्रहरीले जनाएको छ ।
पाँचजनाको समूहद्धारा बम प्रहार
सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं आइरहेकोे ना६ख ४६१५ नम्बरको ट्रकमा पाँचजनाको समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
पोखराबाट ४२ जना पक्राउ
बजार बन्द गराउँदै हिँडेका ४२ जनालाई प्रहरीले पोखरा र लेखनाथबाट पक्राउ गरेको छ ।
बन्द आह्वानकर्ता सडकमा नदेखिए पनि सवारी–साधन सन्चालन नहुँदा पोखराको बजार सुनसान जस्तै देखिएको छ । अत्यावश्यकीय सवारी–साधन भने सन्चालनमा छन् ।
नवलपरासीमा आंशिक प्रभाव
नवलपरासीमा बन्दको प्रभाव आंशिकरुपमा परेको छ । बन्दका कारण बजार क्षेत्रका पसल व्यवसायहरु छिट्टफुट्टरुपमामात्र खुलेका छन् ।
भारतीय मालबहाक ट्रक र यात्रुबहाक बसलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पुर्याएको छ ।
पाँचथरमा दुईजना पक्राउ
पूर्वका मोरङ, झापा, पाँचथर, इलाम, ताप्लेजुङलगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ ।
पाँचथरमा जबर्जस्ती बजार बन्द गराउँदै हिड्ने नेकपा माओवादीको संगठन विभाग प्रमुखसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्