१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘बजेट कार्यान्वयन पक्ष सुधार गरे दोहोरो अंकको आर्थिक वृद्धि सम्भव’


0
Shares

काठमाडौं, वैशाख २२ । बजेट कार्यान्वयन पक्ष सुधार गरे दोहोरो अंकको आर्थिक वृद्धि सम्भव रहेको बताइएको छ ।

सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी बर्षलाई इतिहासकै तीब्र विकासको बर्ष बनाउने र आगामी ४ बर्षमा दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्ने अबस्था आउने दाबी गरेको छ ।

तर यसका लागि बजेट कार्यान्वयन नै सबैभन्दा महत्वपूर्ण पक्ष हुने अर्थविद् बताउँछन् । नीति तथा कार्यक्रम महत्वाकांक्षी र चर्चामूलक रहेको भन्ने आरोप लागिरहँदा अर्थविद् भने बजेट कार्यान्वयन सबैभन्दा चुनौती रहेको र यसमा सुधार गर्ने हो भने लक्ष्य प्राप्ति असम्भव नरहेको पनि बताउँछन् ।

सरकारले ४ वर्षमा दोहोरो आर्थिक वृद्धि, आगामी वर्षमा मुलुकमा ५ लाख रोजगारी सिर्जना गरिने, आगामी जेठ १ गतेबाट एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएर उद्योग सञ्चालन प्रक्रिया सहज बनाउने, उद्योगको लागत घटाउनेजस्ता लक्ष्य नीति तथा कार्यक्रममा राखिनु सकारात्मक भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।

सरकारले ल्याउने योजनाहरुको सैद्धान्तिक पक्ष अत्यन्तै बलियो हुने गरे पनि कार्यान्वयन पक्ष फितलो हुने गरेकाले कार्यान्वयन पक्ष बलियो बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

सरकारले स्रोत साधनबारे भने अलि वेवास्ता गरेको देखिएको उनको टिप्पणी छ ।