११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान


0
Shares

काठमाडौं, असार २७ । कला, संस्कृति र संगीत क्षेत्रमा योगदान पुर्‍याएका चारजना स्रष्टालाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने यी पुरस्कारहरु बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे ।

जसमध्ये संस्कृति पुरस्कार प्रा. डा. रन्जन बज्राचार्यलाई प्रदान गरियो भने संगीत तथा नाट्य पुरस्कार प्रचण्ड मल्ललाई प्रदान गरियो ।

यस्तै, लतिलकला पुरस्कार ठाकुरप्रसाद मैनालीलाई र भाषा तथा साहित्य पुरस्कार डा. केशवप्रसाद उपाध्यायलाई प्रदान गरियो ।

यस्तै, महाकवि देवकोटा राष्ट्रिय पुरस्कारअन्तर्गत् कविता विधामा कन्चन पुडासैनी, निबन्ध विधामा तेजराज खतिवडा, बालसाहित्य विधामा विनय कसजु, भाषा–साहित्य विधामा महेश्वर राय र आख्यान विधाको पुरस्कार अभि सुवेदीलाई प्रदान गरियो ।

यस्तै, यस वर्षको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नरेश शाक्य र डा. मोहन हिमांशु थापालाई प्रदान गरियो ।

यस्तै, दलित मुक्ति आन्दोलन क्षेत्र पुरस्कार पदमलाल विश्वकर्मालाई प्रदान गरियो भने समाज सुधार अभियान क्षेत्र पुरस्कार दलवीर विश्वकर्मा र लेखन तथा अध्ययन–अनुसन्धान क्षेत्र पुरस्कार राजेन्द्रकुमार महर्जनलाई प्रदान गरियो ।

यसैगरी, भाषा तथा कला–साहित्यमा योगदान पुर्‍याएको भन्दै २८ जनालाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरियो ।

राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेलाई जनही एक लाख र प्रादेशिक पुरस्कार प्राप्त गर्नेलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले युवालाई प्रोत्साहन र स्रष्टालाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भौतिक समृद्धिमात्र नभइ कला, साहित्यको पनि विकास गराउनुपर्ने बताए ।