Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


पुरानो बसपार्कमा बन्ने काठमाडौं टावर निर्माणमा ढिलाइ नगर्न चेतावनी


0
Shares

काठमाडौं, जेठ २८ । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौं स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाइ पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुलामन्चमा सारिसकिएको छ ।

अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भएपनि हालसम्म कुनै काम नभएकाले अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोइका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताए ।

‘टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो–‘भेटुवालले भने ।

उनकाअनुसार सिमेन्ट, ढुंगा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काममात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ ।

भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।

कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्ने छ ।

स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ । भवनको सबैभन्दा तल्लो तलामा बस र्पािकङस्थल रहने छ ।

त्यस्तै, त्यसको माथि दोस्रो तलामा हलुका गाडीको र्पािकङ, व्यवस्थित चलचित्रकक्ष, पौडीपोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालयसमेत रहनेछ ।

भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । रासस