Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


सरकारको नीति तथा कार्यक्रमबारे संसदमा कसले के भने ? (भिडियो)


0
Shares

काठमाडौं, वैशाख २२ । सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजबाट संघीय संसदको प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा छलफल गर्ने परम्पराअनुसार आजबाट छलफल सुरु भएको हो । बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सरकारले पटक–पटक राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको आरोप लगाए ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाइएको आरोप लगाए । उनले नीति तथा कार्यक्रम कार्ययोजनाविहीन भएको भन्दै विगतमा सुरु गरिएका आयोजनालाई पूरा गर्ने कुनै आधार नरहेकाले कार्यान्वयन हुन नसक्ने जिकिर गरे ।

राजपा नेपालका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रम ‘शाही शैली’मा आएको आरोप लगाउँदै झुठको खेती र जनताको अधिकारमाथि दिनदहाडै डकैती भएको टिप्पणी गरे ।

सत्तारुढ दल नेकपाका सांसद अग्नि सापकोटाले नीति तथा कार्यक्रम सही, वैज्ञानिक, बस्तुवादी रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रम बजेटमा प्रतिबिम्व नभए भाषण र प्रवचनमा मात्र सिमित हुनसक्ने टिप्पणी गरे ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय गणतन्त्रको राष्ट्रपति सामन्ती युगको महारानी बनेको टिप्पणी गर्दै नीति तथा कार्यक्रम संघीयतालाई झन् कमजोर पार्ने नियतका साथ ल्याइएको आरोप लगाए ।

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन पेश भएका छन् । कांग्रेसका मिनेन्द्र रिजाल, राजपाका लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, राजेन्द्र महतो, चन्द्रकान्त चौधरी र नेमकिपाका सांसद प्रेम सुवालले सरकारको नीति तथा कार्यक्रमका कतिपय विषय र प्रयोग भएका शब्द परिमार्जन गर्न संशोधन हालेका हुन् ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने र आवश्यक परिमार्जनसहित संसदबाट पारित गर्ने प्रचलन छ । सरकारको नीति तथा कार्यक्रम आगामी मंगलबार पारित गर्ने तयारी छ ।

भिडियो हेर्नुहोस्