
पाँचथर, वैशाख २२ । जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउँछन् ।
उनले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने र्याक, मुडालगायत थुप्रै सामग्री तयार पारेका छन् ।
योङ्याले बनाएका सामग्रीले भने बजार नपाउँदा भने सामग्री बनाउन नै छाडेका छन् । उनी भन्छन्, ‘सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले माग गरे भने मात्र बनाउने गरेको छु ।’
आफ्नो क्षमता भएर पनि आफूले आम्दानी लिन नसकेको उनको गुनासो छ । आफूले रु ५०० देखि एक हजार ५००सम्मका बाँसका विभिन्न सामग्री बनाउने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘सामग्री बनाउन जति पनि सक्छु, राम्रो बजार भए म यही कारागारमा बसेरै महिनाको रु २५ हजारभन्दा माथि कमाउन सक्थे ।’
कारागारका अन्य कैदीको समेत उही गुनासो छ । दक्षता अनुसार आम्दानी भने गर्न उनीहरुले सकेका छैनन् ।
कैदीबन्दीले बनाएका सामानले बजार नपाएका कारण नै सामग्री बनाउन कम गरेको कारागारका सूचना अधिकारी विमल ढङ्गानाले बताए । ‘सरेनको सीप एकदम राम्रो छ । मैले बजारतिर यस्तो सामग्री कारागारका कैदीले बनाउँछन् भनेर जानकारी पनि दिएको छु,’ उनले भने, ‘कसैले त्यति चासो दिएका छैनन् ।’
ढुङ्गानाले थपे, ‘सुरेनले यी सामग्रीले बजार पाउने हो भने महिनामा २० देखि २५ हजार कमाउन सक्छन् । बजारमा भएका एक÷दुईवटा पसलमा कुरा गरिदिएको छु । बिक्री गरिदिन सकारात्मक देखिएका छन्, हेरौं के गर्छन् ।’
सरेन बाहेक अरु कैदीले पनि विभिन्न सामग्री निर्माण गर्छन् । कसैले ढाकाका सामग्रीहरु बनाउँछन् । कसैले मुडामात्र बनाउँछन् । कसैले गुडिया बनाउँछन् । ढाकाका सामग्रीको राम्रै बिक्री भए पनि अन्य सामग्रीले त्यति बजार नपाएको कारागारका जेलर सुरेन्द्र मुखियाले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्