Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बारा र पर्साका हावाहुरीपीडितका लागि आवास निर्माण सुरु, साउनभित्रै सक्ने लक्ष्य


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, वैशाख २१ । नेपाली सेनाले बारा र पर्साका भीषण हावाहुरीपीडितहरुका लागि आवास निर्माण सुरु गरेको छ ।

संघीय सरकारका १० मन्त्रीसहित प्रदेश नम्बर–२ का मुख्यमन्त्रीले शनिबार बारा र पर्साका ११ ठाउँमा एकैसाथ घर निर्माणको शिलान्यास गरे ।

सो हावाहुरीले सबैभन्दा धेरै क्षति पुर्‍याएको बाराको फेटा गाँउपालिकामा  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घर निर्माणको शिलान्यास गरे ।

त्यसैगरी, उप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री  रामबहादुर थापालगायत अन्य मन्त्रीहरुले प्रभावित क्षेत्रहरुमा आवास निर्माणको शुभारम्भ गरे ।

सेनाले बारा र पर्साका हावाहुरीपीडितहरुका लागि १४ सय ५३ ओटा घर निर्माण गर्न लागेको छ ।

हावाहुरी प्रभावित क्षेत्रमा पुनःनिमार्णका लागि झन्डै तीन हजार नेपाली सेना परिचालन गरिएको छ । त्यसैगरी, ७५० जना इन्जिनियर पनि सरकारले खटाएको छ ।

सेनाले आगामी साउन १२ गतेभित्र सम्पूर्ण घरहरु निर्माण गरिसक्ने जनाएको छ ।

प्रतिघरको निर्माण लागत ५ लाख ४५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

बाराको पुरैनियामा ‘जनता आवास बारा/पर्सा निर्माण योजना शिलान्यास कार्यक्रम’मा रक्षामन्त्री ईश्वर पोखरेलले पीडितहरुको ऐलानी तथा पुर्जाविहीन जग्गाहरु मिलाइ घर निर्माणलाई सहज बनाउन प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिए ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आवास निर्माणमा नीतिगतदेखि हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

गएको चैत १७ गते आएको भीषण हावाहुरीमा परेर बारा र पर्सामा २८ जनाको ज्यान जानुका साथै झन्डै दुई हजार बढी घरमा क्षति पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागले सो हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि गरेको थियो ।