११ असार २०८२, बुधबार | Wed Jun 25 2025


आगामी वर्षको मंसिरसम्म तीनवटै निर्वाचन गराउँछौं : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानअनुसार आगामी वर्षको मंसिरसम्म तीन वटै निर्वाचन गराउने घोषणा गरेका छन् ।

लोक सेवा आयोगको ६६ औं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममका प्रधानमन्त्री ओलीले आगामी मंसिरमा स्थानीय निकाय, २०७४ वैशाखमा प्रदेश र २०७४ मंसिरमा प्रतिनिधिसभाको चुनाव गरिने बताएका हुन् । उनले चुनावका लागि सबै दललाई एकजुट हुन आह्वान गरे ।

प्रधानमन्त्री ओलीले स्थानीय निकायलाई संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहकै चुनाव गरिने बताए । उनले संविधान कार्यान्वयन गरेर संक्रमणकालको अन्त्य गर्न सबैसँग सहयोगको आग्रह गरे । संविधान कार्यान्वयन हुन नसके सरकार मात्र नभई कोही पनि सफल नहुने भन्दै सबै सफल र उत्तीर्ण हुन लाग्नुपर्नेमा जोड दिए ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने भएको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई थप मर्यादित, विश्वसनीय र निष्पक्ष बनाउनुपर्नेमा जोड दिइन । लोक सेवा आयोगको वार्षिकोत्सवको उद्घाटन गर्दै उनले सरकार र जनतासँगको सुमधुर सम्बन्धबाट लोक सेवा आयोगले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्नु पर्ने बताइन् ।

सरकारी सेवामा युवा र महिलाको आकर्षण बढ्दै गएको भन्दै उनले सूचना र प्रविधिको अधिकतम् उपयोगबाट लोक सेवा आयोगलाई आधुनीकीकरण र वैज्ञानीकीकरण बनाउनु पर्नेमा जोड दिइन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोक सेवा आयोगले स्वतन्त्र, निष्पक्ष र पारदर्शी रुपमा काम गरेको बताए ।