११ असार २०८२, बुधबार | Wed Jun 25 2025


क्रिश्चियन धर्म प्रचारको आरोपमा पक्राउ परेकालाई रिहाइको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन


0
Shares

काठमाडौं, असार १ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताएका छन् ।

गृह मन्त्रालयमा बुधबार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनैपनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत् गराए ।

महासंघले गत जेठ २८ गते दोलखाका विद्यालयमा ‘भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्नेक्रममा ख्रीष्टियन समुदायका आठजना व्यक्तिलाई प्रहरीले धर्म प्रचारको आरोपमा पक्राउ गरेको’ जानकारी गराउँदै उनीहरुको रिहाइको माग गरेको थियो ।

सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भएपनि त्यसका लागि समय, स्थान र सन्दर्भकाबारेमा ध्यान पुर्‍याउन आग्रह गर्दै मन्त्री बस्नेतले भने–‘विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन ।’

उनले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यकरुपमा विवादमा नल्याइदिन पनि आग्रह गरे ।

कार्यक्रममा महासंघका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भने–‘हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौं । नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।’

दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डंगोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङ स्कुलकाका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो । रासस

फाइल फोटो