Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


जोमसोममा हावाबाट विद्युत् उत्पादन सफल


0
Shares

मुस्ताङ, असार ४ । मुस्ताङको सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।

बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ ।

मदानी प्रकृतिकै पंखा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए ।

मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि ‘व्याकअप’कोरुपमा सौर्यप्रणाली पनि जडान गरिएको छ ।

‘अहिले हामीले परीक्षणकारुपमा उत्पादन गरिरहेका छौं, ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना छ’–कम्पनीका निर्देशक तिमिल्सिनाले भने–‘एक महिनापछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछौं ।’

एक अध्ययनअनुसार मुस्ताङको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्रगतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।

सोहीअनुसार, कुनबेला हावाको गति कति आउँछ ? भन्ने कुराको अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ ।

यसअघि, मुस्ताङकै कागबेनीमा हावाबाट बिजुली उत्पादन गरिएपनि कमजोर व्यवस्थापनका कारण ६ महिनामै जीर्ण बनेको थियो । रासस

फाइल फोटो