काठमाडौं, असार १० । सरकारले अफगानिस्तान, लिबिया, इराक र सिरियामा कामदार पठाउन रोक लगाएको छ ।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाको दृष्टिले जोखिमपूर्ण मानिएका अफगानिस्तान, लिबिया, इराक र सिरियामा कामदार पठाउन रोक लगाउने निर्णय गरेको हो । अबदेखि ती देशहरुमा श्रम स्वीकृति दिइने छैन ।
बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन र उनीहरुको सुरक्षाका लागि कुटनीतिक पहल गर्ने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए ।
यस्तै, बैठकले काबुल आक्रमणमा मृत्यु भएकाहरुका परिवारलाई प्रतिपरिवार दश–दश लाख रुपैयाँ राहत स्वरुप दिने निर्णय पनि गरेको छ ।
बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री संयोजक रहेको छनोट समितिले अधिकारी, निवर्तमान सिईओ राधेश पन्त र सरोज कोइरालालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।
त्यसैगरी बैठकले नेपाली नागरिकता लिएका दुई जना भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन भूमिका खेल्ने सरकारी अधिकारीहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।





प्रतिक्रिया दिनुहोस्