खोटाङ, असार १० । सुन्दर गाउँ मुढे, जुन गाउँ कुनै चित्रकारले कोरेको चित्रभन्दा कम छैन । मुढे दिक्तेल नगरपालिका प्रवेश गर्ने मुख्य नाकामा पर्छ । सोही गाउँको बाटो भएर दिक्तेल झर्ने दायाँ किनारमा छन् जस्ताले छाएका एक जोडी घर ।
जुन घरमा गत कात्तिक महिनासम्म बस्दै आएका थिए अङ्कुर तामाङका ७८ वर्षीय बुबा भीमबहादुर र ६५ वर्षीया आमा लोकमायाँ । मन्तरे छोरा अङ्कुरले आफूहरुलाई सुख दिने सपनाको कदरका साथ उनकै आग्रहमा घरमा ताला लगाई जग्गाजमिन अरूको हातमा दिएर इटहरीको हाँसपोसामै सँधै बस्नेगरी गएका छन् ।
‘मन्तरेले पहाडमा कति दुःख गर्नुहुन्छ ? दाजुहरुसँगै आएर बस्नु भनेपछि यतै झर्यौँ,’ वृद्ध बुबा भीमबहादुरले भने, ‘के गर्नु अब त छोराले पनि छाडेर गयो, अब कसरी मन बुझाउनु ?’ आमा लोकामायाँ एकोहोरो अङ्कुरको नाम पुकार्दै नियतिलाई दोष दिइरहेकी छन् । भावविह्वल हुँदै उनी भन्छिन्, ‘मेरो छोराले हामीलाई सधैँभरिका लागि छाडेर गयो, अब हामी कहाँ जानु ?’
गत वैशाख अन्तिम साता घरबिदामा आएर अफगानिस्तान फर्किएका ३१ वर्षीय अङ्कुरको पनि काबुल आत्मघाती बम आक्रमणमा परी मृत्यु भएपछि परिवारमा यस्तो पीडा उब्जिएको हो । दिक्तेलको मुढेमै जन्मी हुर्किएका अङ्कुरको मृत्यु भएको खबरपछि दिक्तेलको मुढेलगायतका सिङ्गै गाउँ शोकमा डुबेको छ ।
अङ्कुरको परिवार बसाइँ सरेपनि उनका वंश मुढेमै रहेका छन् । अङ्कुर परिवारका मन्तरे (कान्छोमाथिका) थिए । लोकमाया र भीमबहादुरका नौ छोरामध्ये तीनजनाको मृत्यु भएकोमा अहिले ६ जना थिए, अङ्कुरको पनि मृत्यु भएपछि पाँचजना बाँकी छन् । अङ्कुर पाँच वर्षअघि नेपाली सेनाको जागिर छाडेर अफगानिस्तान गएको आफन्तको भनाइ छ । वैशाखमा घर आउँदा अब फेरि फर्केर अस्ट्रेलिया जाने योजना सुनाएको उनका दाजु देवराजले जानकारी दिए ।
‘अङ्कुरले मासिक एक लाख कमाउँथे । हरेक वर्षदिनमा घरबिदामा आउजाउ गर्थे,’ उनले भने, ‘अस्ट्रेलिया जानु त के, घरै फर्कन पाएन, ऊ त मरेर गयो–गयो परिवारको बिचल्ली भयो ।’
तीन वर्षअघि हेटौँडा घर भएकी गोमा गोलेसँग अङ्कुरको विवाह भएको थियो । गोमा पनि अहिले अर्धबेहोस अवस्थामा रहेको जनाइएको छ । (रासस)





प्रतिक्रिया दिनुहोस्