काठमाडौं, असार १० । नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकार संविधान कार्यान्वयन गर्न गम्भीर नभएको आरोप लगाएका छन् । संविधान कार्यान्वयनमा नगई कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै नेताहरुले सरकारले निर्वाचनबारे गरेको प्रचार गलत भएको बताए ।
प्रजातान्त्रिक बिचार समाजको १० औं महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनर्संरचना आयोगले फागुनसम्म प्रतिवेदन दिने भनिरहेका बेला सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्छु भन्नु फगत प्रचारमात्र हो भने ।
सभापति देउवाले सरकार गफमात्र गर्ने तर काम केही पनि नगर्ने खालको रहेको बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा सरकार उदासीन रहेको आरोप लगाए । उनले संविधानसभा निर्वाचनपछि सरकार बनाउँदा एमालेलाई लिनु कांग्रेसको गल्ती भएको बताए ।
उनले संविधान कार्यान्वयन र मधेश समस्या समाधानका लागि कांग्रेसले पहलकदमी लिनुपर्ने धारणा राखे ।
कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि संविधान कार्यन्वयन नभएसम्म कुनैपनि निर्वाचन हुन नसक्ने बताए ।
नयाँ नेतृत्व चयनका लागि भएको महाधिवेशनमा देशभरबाट ३ सय ४० जना प्रतिनिधिले भाग लिएका छन् ।










प्रतिक्रिया दिनुहोस्