झापा, असार १३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–१ रामचोक सडकखण्डमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामचोक सडकखण्डमा गएराति पश्चिमतर्फ आइरहेको को९प ६८४९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मे१ख १९०६ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
सो क्रममा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएकामा आचार्यको आइतबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार गिरी गम्भीर घाइते भई बिर्तामोडस्थित बि एन्ड सी हस्पिटलमा ल्याइएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । (रासस)





प्रतिक्रिया दिनुहोस्