Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


संसद बैठक पुनःस्थगित


0
Shares

काठमाडौं, असार १३ । व्यवस्थापिका–संसदको सोमबारको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

संसदको सोमबारको पहिलो बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध भएपछि दोस्रो बैठक ३ः३० बजे बस्ने गरी स्थगन गरिएको हो ।

अवरुद्ध बैठक खोल्ने सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसकेपछि बैठक मंगलबार अपराह्न ३ः३० बजे बस्नेछ ।

अवरुद्ध संसद बैठक खोल्ने सम्बन्धमा सहमति जुटाउन प्रतिपक्षसँग प्रारम्भिक छलफल भएपनि टुंगोमा पुग्न नसकेका कारण बैठक मंगलबारसम्मका लागि स्थगन गरिएको सांसद डा. प्रकाशशरण महतले जानकारी दिए ।

संसद सचिवालयले भने विशेष कारणवश बैठक स्थगित गरिएको सूचनामार्फत् जानकारी गराएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, डा. प्रकाशशरण महत र सत्तापक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालगायत नेता सम्मिलित कार्यदल गठन गरिएको बुझिएको छ ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले पूर्वअर्थमन्त्री डा. रामशरण महतले सदनमा व्यक्त गरेको विषय भरपर्दो नभएको बताए ।

उनले मंगलबारसम्म प्रतिपक्ष दलले गम्भीर भएर सोचेर आउने र संसद चल्नेमा आफू विश्वस्त रहेको बताउँदै सहमतिका लागि मंगलबार बिहान ८ बजे कार्यदलको बैठक बस्ने जानकारी गराए ।

कांग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै चार दिनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । रासस

फाइल फोटो