१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपालमा कृषि पर्यटनको सम्भावनै सम्भावना, यसरी रमाउँछन् पर्यटक(भिडियो)


0
Shares

नुवाकोट, असार १६ । प्राकृतिक, सांस्कृतिक र धार्मिकसँगै नेपालमा कृषि पर्यटनको सम्भावना पनि प्रवल बन्दै गएको छ । सात समुद्रपारीबाट आउने विदेशी हुन् वा शहरको व्यस्त दैनिकीसँग पौठाजोरी खेल्ने स्वदेशी पर्यटक, सबैको रोजाईमा पर्न थालेको छ कृषि ।

कुनैबेला विश्वकै अग्ला हिमाल हेर्नका लागि मात्र नेपाल आउने विदेशी पर्यटकको रोजाईमा पछिल्ला वर्षमा विस्तारै कृषि क्षेत्र पनि पर्न थालेको छ ।

त्यसैले उनीहरु नेपाली कृषकका वार्षिक कृषि कर्ममध्येको असार १५ कै अवसर पारेर नेपाल आउने गरेका छन् । ग्रामीण क्षेत्रमा पुगेर कृषककै खेतबारीमा उनीहरुसँग निस्फिक्री रमाइलो गर्न पाइने भएपछि उनीहरु सकेसम्म यही सिजनमा नेपाल आउन रुचाउँछन् ।

बुधबार असार १५ को अवसर पारेर गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले नुवाकोट तुप्चेमा गरेको रोपाई महोत्सवमा पुगेका यी विदेशी पर्यटक स्थानीयसँग हिलो खेलेर भरपुर रमाईलो गरिरहेका थिए ।

प्राकृतिक सुन्दरताले भरिपुर देशमा आउन पाउनु र ग्रामीण क्षेत्रमा पुगेर यहाँका जनतासँग यस्ता विशेष अवसरमा सहभागी भै रमाइलो गर्न पाउँदा उनीहरुले आफूहरुलाई निक्कै भाग्यमानी सम्झने गरेका छन् ।

विदेशी मात्रै होइन, शहरी क्षेत्रको व्यस्ततापूर्ण जीवन बिताउनेहरु पनि पछिल्ला वर्षहरुमा यस्ता कार्यक्रममा सहभागी हुने गरेका छन् । नेपालको कृषि पर्यटनलाई विदेश तथा स्वदेशमै बढावा दिन यस्ता गतिविधि अत्यन्तै फलदायी भै रहेको ठम्याई नेपाल पर्यटन बोर्डको छ ।

नेपाल भित्रका पर्यटकीय सम्भावना मध्येको ग्रामीण पर्यटन, एक त गाउँघरको संस्कृति जोगाउन सकिने अर्को शहर र गाउँबीच देखिएको दुरी कम गर्न सकिने । त्यसैले यस्ता कार्यक्रमहरुमा आफूहरु विशेष सक्रियताका साथ लागिपरेको आयोजकहरु बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस