काठमाडौं, असार १६ । नेपाली फोटो पत्रकारहरुको छाता संगठन ‘पिजे क्लब’ले फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौ संस्करण आयोजना गर्ने भएको छ ।
विहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै क्लबले प्रतियोगिता सहभागी हुन इच्छुक फोटोग्राफरहरुसँग फोटो आह्वान गरेको छ ।
प्रतियोगितामा व्यवसायिक फोटोग्राफरहरुका साथै अरु सर्वसाधारणले पनि आफूले खिचेका फोटोहरु प्रतिस्पर्धामा राख्न सक्नेछन् ।
ग्लोबल आएमइ बैंक र आएमइले प्रायोजन गरेको प्रतियोगितामा नेपाली नागरिकले नेपालभित्र खिचेका फोटोमात्र सहभागी गराइने छ ।
प्रतियोगितामा सहभागी हुन चाहानेले पिजे क्लबको वेबसाइट डब्लुडब्लुडब्लु डट पिजेक्लब डटकममा गइ दैनिक जीवन, प्रकृति र वन्यजन्तु, घुमफिर, संस्कृति र पर्यटन, समाचार फोटो, खेलकुद, र स्माइल फोटो गरी जम्मा सातओटा विधामा निःशुल्क फोटो राख्न सक्नेछन् ।
यही असार ३१ गते रातिसम्म इच्छुक व्यक्तिले फोटो राखिसक्नु पर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने फोटोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रत्येक विधामा पहिलो, दोस्रो र तेस्रो हुने फोटोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्