१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


बझाङमा २१ पटक भूकम्पको धक्का, स्थानीय त्रसित


0
Shares

बैतडी, असार १६ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङलाई केन्द्रबिन्दू बनाएर २१ पटक भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्र, सुुर्खेतकाअनुसार ती धक्काको केन्द्रबिन्दू बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ ।

विहीबारमात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ म्याग्निच्यूडको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्यूडको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ म्याग्निच्यूडको तेस्रो धक्का तथा बाँकी दुईओटा साना धक्का गएका थिए ।

बुधबार (हिजो) १६ पटक र बिहीबार पाँचपटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र, सुुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिए ।

उनले भने–‘बुधबार २ बजेर ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ ओटा धक्का गएका हुन् ।’

बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा ५ म्याग्निच्यूडको, ३ बजेर ११ मिनेटमा ४.२ म्याग्निच्यूडको, ३ बजेर २८ मिनेटमा ३.८ म्याग्निच्यूडको, ३ बजेर २९ मिनेटमा ३.६ म्याग्निच्यूडको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ म्याग्निच्यूडलगायत १६ पटकसम्म गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै स–साना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताए ।

उनले भने–‘५ म्याग्निच्यूडको भूकम्प गएपछि त्योभन्दा साना धक्का जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनुपर्ने अवस्था छैन ।’

यो गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएपनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझैपनि क्षतिको विवरण संकलनको काम भइरहेको बताए । लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

भूकम्प जहिले पनि र जतिबेला जानसक्ने भएकाले पूर्वतयारीकासाथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । रासस