१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा उतार्ने तयारी


0
Shares

काठमाडौं, वैशाख ३१ । फेसियल हाउसको आयोजनामा जेठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडलमात्र नभई रोलमोडल पनि छानेको छ ।

फेसियल हाउस संचालिका सुष्मा महराले भनिन्, ‘समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यक्तिहरु लगायतलाई र्‍याम्पमा उतार्दैछौं ।’ फेसियल हाउसले समय सान्दर्भिक रुपका फेशनलेबल डीजाईन मेकअप र भबिष्यमा हुने र चल्ने डिजाईन तथा मेकअपलाई फेशन ट्रेडमार्फत प्रस्तुत गर्दै आएको छ ।

‘फेसियल हाउस फेशन ट्रेड सिजन टूले फेसनको दुनियामा अझ बढि समय सान्दर्भिक विम्ब सिर्जना गर्नेछु, फेसियल हाउसकी संचालिका महराले भनिन् । ‘फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाईनै फेसन भन्ने मान्यतालाई स्थापीत गर्न सवै प्रकारका जिउडाल भएकाहरुलाई मिल्दा फेशन हुनुपर्छ भन्ने हो,’ उनले भनिन्, ‘मान्छेहरुको उचाई, लम्बाई र

चौडाईमात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्शाउनुका लागि पनि यो फेसन ट्रेडको आयोजना गर्न लागेका हौं ।’ फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्‍याम्पमा उतार्न लागिएको छ । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ ।

यसैगरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्‍याम्पमा उत्रनेछन् । कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन् । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।