५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


भजनसहितका परम्परागत संस्कृति लोप हुँदै


0
Shares

धनकुटा । धार्मिक समारोह तथा उत्सवमा गाइने भजन तथा नृत्य पछिल्लो समय धनकुटामा पनि लोप हुन थालेका छन् ।

ऐतिहासिक कालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा सरोकारवाला भने चिन्तित बनेका छन् ।

एक समय थियो हरेक विवाह, ब्रतबन्ध, चाडपर्व र उत्सवहरुमा भजन, चुट्का, बालन गाउने, संगिनी नाचलगातका कलाहरुको रमझम हुन्थ्यो ।

तर आजभोलि धेरैजसो धार्मिक उत्सव तथा समारोहमा मौलिक संस्कृति पस्किनुको साटो आधुनिक गीत, संगीत र नृत्यको प्रस्तुति गरिन्छ ।

आधुनिकताका नाममा भित्रिएका पश्चिमा संस्कृतिको दबदबाले हाम्रो देशका मौलिक कला संस्कृति नै छायामा मात्र होइन लोप नै हुने स्थितिमा पुगेका छन् ।

भजन कृतनसहितका यस्ता नाचमा पौराणिक कथाका पात्रहरुको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ ।

पहिलेको समयमा मनोरञ्जनका माध्यम बनेका हाम्रो मौलिकतालाई बोकेका यस्ता भजनकृतनको रौनकताले मनमा शान्ति र आनन्द मिल्ने पुरानो पुस्ताको अनुभव छ ।

धार्मिक तथा सामाजिक परिवेशसँग जोडिएका यी संस्कृतिप्रति नयाँ पुस्ता परिचित नहुँदा लोप हुने अवस्थामा पुगेको देखिन्छ ।

तथाकथित आधुनिकतासंगै युवा पुस्ता नास्तिक भएकाले यो संस्कृति लोप हुदै गएको धनकुटा मुर्तिढुङ्गाका जीवनाथ काफ्लेको बुझाइ छ ।