प्रतीक लामिछाने/उत्तम मानन्धर (इमेज)
काठमाडौं, असार १७ । केपी शर्मा ओली नेतृत्वको सरकारमा ६ जना उपप्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको संख्या ४१ छ ।
सामान्यतया कुनैपनि विषयमा दक्ष व्यक्तिलाईमात्रै सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिने अन्तर्राष्ट्रिय प्रचलन छ ।
तर, नेपालमा त्यस्तो अभ्यास नभएकैले हुनसक्छ शुक्रबार राजधानीमा गरिएको एक कार्यक्रममा सहायकमन्त्री दिनेश श्रेष्ठले आफ्नो विभागीय अक्षमतासँगै राजनीतिक भागबन्डाप्रति कटाक्ष गर्न भ्याए ।
राप्रपा नेपालका सांसद दिनेश श्रेष्ठ । हालका भूमि सुधार तथा व्यवस्था सहायकमन्त्री । उनले सहायकमन्त्रीकोरुपमा जिम्मेवारी निर्वाह गरेको करिब ९ महिना भयो ।
शुक्रबार राजधानीमा आफ्नै मन्त्रालयअन्तर्गतको नापी विभाग, खगोल तथा भूमापन महाशाखाले गरेको एउटा कार्यशालाका प्रमुख अतिथिकोरुपमा सहभागी भए सहायकमन्त्री श्रेष्ठ ।
कार्यक्रमको प्रमुख अतिथि भएपछि उद्घाटन गर्ने जिम्मा उनको नै हुने भयो । मुसुमुसु हाँस्दै सुकुन्दा हातमा लिएर पानसमा बत्ती बाले उनले । अनि वक्ताहरुको भाषण र कार्यपत्र सुनिरहे ।
यसबीचमा उनको हाउभाउ र मुहार हेर्दा कताकता उनी कार्यक्रमको विषयवस्तुप्रति अनभिज्ञ छन् वा उनलाई कार्यक्रमप्रति रुची छैन भन्ने स्पस्टै बुझ्न सकिन्थ्यो ।
कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्ने पालो आएपछि श्रेष्ठले सुरुमै अंग्रेजी भाषामा कार्यक्रम गरिएकोमा गुनासो गरे ।
अनि आफू र आफ्नो पार्टीले पाएको जिम्मेवारीलाई पूरा गर्न नसकिरहेको भन्दै दुखेसो पोखे ।
ठूला राजनीतिक दलहरुबीच भएको झगडाका कारण आफ्नो पार्टीले सोचेभन्दा ठूलो महत्व पाएको र आफूहरुले पनि क्षमताभन्दा ठूलो जिम्मेवारी बहन गर्नुपरेको मन्त्री श्रेष्ठको गुनासो छ ।
यतिमात्रै होइन, कार्यक्रममा सहभागी हुनु आफ्नो बाध्यता भएको र विषयवस्तुकोबारेमा आफूलाई जानकारी नभएको भन्दै उनले आयोजकले नै लेखिदिएको भाषण पढ्न थाले । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्