
काठमाडौं, असार १७ । सरकारले नेपाली वा विदेशी कुनैपनि यात्रुलाई आगामी साउन १ गतेदेखि लागू हुने गरी काँचो सुन र काँचो चाँदी ल्याउन पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
सो व्यवस्थाविपरीत कुनैपनि यात्रुले काँचो सुन र चाँदी ल्याएको भेटिएमा उक्त सामान जफत गरी कानुनबमोजिम कारबाही हुने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
अब विदेशबाट आउने यात्रुले सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना ५०० ग्रामसम्म र रु एक लाख मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरियामात्र ल्याउन पाउनेछन् ।
यसअघि, ५० ग्रामसम्म काँचो सुन र ५०० ग्रामसम्मको काँचो चाँदी महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेकामा हाल यो व्यवस्था खारेज गरिएको भन्सार विभागका निर्देशक सूर्यप्रसाद सेढाइँले जानकारी दिए ।
यही असार मसान्तसम्म ६ महिनाभन्दा कम विदेशमा बसी आउने नेपालीले ४०० ग्रामसम्म सुन तथा सुनको गहना र ६ महिनाभन्दा बढी विदेशमा बसी आउने नेपाली यात्रुले ५०० ग्रामसम्म सुन तथा सुनको गहना तथा एक हजार ग्रामसम्म चाँदी तथा चाँदी गहना तोकिएबमोजिमको महसुल बुझाइ ल्याउन सक्ने सुविधा छ ।
सरकारले यी सबै व्यवस्थासमेत खारेज गरेको छ ।
कार्यालयले विदेश जाने नेपाली यारुले अतिआवश्यक कारणले ५० ग्रामभन्दा बढी परिणामको सुनको गहना र ५०० ग्रामभन्दा बढीको चाँदीको गहना आफूसाथ लैजानुपरेमा नेपालमा खरिद गरिएको प्यान नम्बर भएको बिललगायत प्रमाण संलग्न विवरण भन्सार कार्यालयमा बुझाउनुपर्ने जनाएको छ ।
भन्सार कार्यालयले पेस भएको फारामबमोजिम लैजान लागेका गहना दुरुस्त पाइएमा लगत राखी एकप्रति लगत पुर्जा उपलब्ध गराउनेछ ।
सोही व्यक्ति पुनः नेपाल फर्की आउँदा भन्सार क्षेत्रमा सो लगत पुर्जा देखाएका खन्डमा लगत भिडेका गहना जाँच पास गरिनेछ र लगत नभिडेका गहना जफत गरी कारबाही गरिनेछ ।
त्यस्तै, कुनैपनि यात्रुले आफूसाथ लिइ आएको एक लिटर मदिरा महसुल नतिरी ल्याउन पाउने तर त्यसभन्दा बढी मदिरा ल्याएमा जफत गरी कानुनी कारबाही गरिनेछ । यसअघि, यात्रुले १.१५ लिटर मदिरा ल्याउन पाउने व्यवस्था रहेकामा खारेज गरिएको छ ।
श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ कम्तीमा लगातार १२ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका नेपाली यात्रुले आफूसाथ लिइ आएको ३२ इन्चसम्मको एक टेलिभिजन एकपटकका लागि महसुल नतिरी ल्याउन पाउनेछ ।
अन्य कुनैपनि यात्रुलाई यो सुविधा नरहेको कार्यालयले जनाएको छ ।
सरकारले सार्वजनिक गरेको ‘निजी गुन्टा, झिटी भारी’ सूचनाअनुसार नेपाली वा विदेशी कुनैपनि यात्रुले अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राभन्दा बढी नगद आफूसाथ लैजान पाउने छैन ।
कसैले सोभन्दा बढी रकम लिइ आउँदा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने तर भारतीय तथा नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुनेछ ।
नेपालमा नियमित उडान भर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपाल आउने आफ्ना यात्रुलाई यस कार्यालयले निर्धारण गरेबमोजिम भन्सार घोषणा फाराम उपलब्ध गराउनुपर्नेछ ।
यात्रुले उक्त फाराम भरी भन्सार कार्यालयको सम्बन्धित डेस्कमा बुझाउनुपर्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्