२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पहिरोका कारण रसुवागढी नाका बन्द, म्याग्दीमा यातायात ठप्प


0
Shares

रसुवा/म्याग्दी, असार १९ । लगातारको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएपछि रसुवागढी नाका बन्द भएको छ । पहिरोका कारण बिहीबारदेखि नाका बन्द भएको हो । जसका कारण सयौं कन्टेनर सिमामा रोकिएका छन् ।

चीन तर्फ खसेको पहिरो चिनियाँ पक्षले पन्छाउने काम गरिरहेको छ । यस्तै प्राविधिकसहितको स्काभेटर तथा लोडरको व्यवस्था गरी नेपालतर्फको नाका पनि निर्वाध रुपमा सञ्चालन गरिने भन्सार प्रमुख केदार पनेरुले बताएका छन् । रसुवागढीबाट केरुङसम्मका ६ ठाउँमा पहिरो गएको छ ।

कन्टेनर राख्ने ठाउँको अभावमा पहिरोको छेवैमा जोखिम मोलेर रोकिएको छ । पहिरोका कारण २५ वटा कन्टेनरमा क्षति पुगेको जनाइएको छ ।

यता, निरन्तरको वर्षा र पहिरोका कारण म्याग्दीमा यातायात सेवा ठप्प भएको छ । वर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले तीन दिनदेखि सदरमुकामबाट ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो ।

बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै ग्रामीण सडकमा सवारी आवागमन बन्द भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ ।