Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्रका आठ सांसद मानव तस्करीमा तानिए


0
Shares

काठमाडौं, असार २२ । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो ।

अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो ।

संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिषा सिफारिस पत्रको आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो । संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागि भिषा आवेदन गर्दा सबैको पत्रमा ब्यक्तिगत सहयोगीको रुपमा एक–एक जनाको नाम थपिएको थियो ।

कन्सुलरको पहिलो पत्रमा कुटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ । दूतावासमा भिषाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नाम समेत थपिएको छ ।

सांसद कुँवरको भिषा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ । उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारुको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ । श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहारीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ । पत्रमा थप गरिएको सबैको पद सांसदको नीजि सहयोगी उल्लेख छ ।

स्रोतअनुसार विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कुटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिषा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो । विभागले भिषा आवेदनमा पेश भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेको हो । त्यसपछि कीर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो । –कान्तिपुर दैनिकबाट