काठमाडौं, असार २२ । अचानक बिरामी भइ अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको छ ।
उनको राजधानीको चाबहिलस्थित ओम अस्पतालमा अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
अस्पतालको पछिल्लो रिपोर्टअनुसार कोइरालाको मिर्गौला र कलेजोमा समस्या रहेको छ भने रक्तचाप १००/५० रहेको छ ।
काठमाडौंमा उपलब्ध विशिष्ट चिकित्सकहरुलाईसमेत बोलाएर कोइरालाको उपचारमा संलग्न गराइएको छ ।
ओम अस्पतालका वरिष्ठ चिकित्सक लवनरसिंह जोशी, डा. भगवान कोइराला, डा. अर्जुन कार्कीसहित १५ जना चिकित्सक उपचारमा संलग्न रहेको डा. जोशीले बुधबार दिउँसो जानकारी दिए ।
२४ घन्टा नहेरी कोइरालाको स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने पनि डा. जोशीले बताए ।
खाना सर्किएपछि निमोनिया भएको र शरीरका सबै अंगले पूर्णरुपमा काम गर्न नसक्दा समस्या जटिल बनेको चिकित्सको भनाइ रहेको छ ।
उपचारका लागि विदेश लैजानेबारे छलफल भइरहे पनि त्यसको पनि टुंगो लागेको छैन ।
अचानक अस्वस्थ भएपछि कोइरालालाई मंगलबार बेलुकी ८ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।
मंगलबार साँझ बान्ता भएपछि कोइरालाको स्वास–प्रश्वासमा पनि समस्या देखिएको थियो । अस्पतालमा भर्ना गर्दा रक्तचाप निकै कम रहेको र राति फेरि बान्ता भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको ओम अस्पतालले जनाएको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्