Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


ठूला बाँधयुक्त जलविद्युत रोक्न अमेरिकी लबिङ


0
Shares

काठमाडौं, असार २३ । जनविद्युत आयोजनाहरुमा बाँधको खतराका साथै यसले परिस्थितिकीय (इको) प्रणालीमा पार्ने असर बुझाउन अमेरिकी सरकारले नेपालको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने विशेष व्यक्तित्वहरुलाई अमेरिका लैजान लागेको छ ।

सरकारले १२ सय मेगावाटको बूढीगण्डकीजस्ता उच्च बाँध बनाइने ५ हजार मेगावाटभन्दा बढी जलाशययुक्त आयोजना अघि बढाउन लागिरहेको बेला बाँधको प्रभाव, असर र खतरा देखाउन अमेरिकी सहयोग नियोग (युएसआइडी) ले उनीहरुलाई अमेरिका लैजान लागेको हो ।

९२ मेगावाटमात्र जलाशययुक्त आयोजना निर्माण भएको तथा जलाशययुक्त आयोजना कै अभावमा उर्जा संकट चुलिरहेका बेला विश्वभर बाँधविरुद्ध (एन्टी ड्याम) अभियान संचालन गरिरहेको अमेरिकाले जलविद्युत क्षेत्रमा ‘हेभिवेट’ का रुपमा चिनिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सांसद नेपाल सरकारका सचिवदेखि निजी क्षेत्रका विशेष व्यक्तिलाई समेत बाँधको असर देखाउन लैजानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

युएस–नेपाल हाइड्रोपावर कोलाब्रेटिभ लर्निङ टुर फर पोलिसी मेकर भन्दै शुक्रबारदेखि २ साउनसम्म १० जना अमेरिका जान लागेका छन् ।

स्रोतका अनुसार अमेरिका लैजान लागेका विशेष व्यक्तिहरुमा योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा, व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समिति सभापति गगन थापा, उर्जा सचिव सुमनप्रसाद शर्मा, जल तथा उर्जा आयोगका सचिव धनबहादुर तामाङ र वन सचिव उदयचन्द्र ठाकुर छन् ।

त्यसैगरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष खड्गबहादुर विष्ट लगायत छन् । –राजधानी दैनिकबाट