काठमाडौं, असार २३ । निर्वाचन आयोगमा आयव्यय विवरण नबुझाउने ९३ दल कारवाहीमा पर्ने भएका छन् ।
आयोगले मंगलबार ती दलको नाम सार्वजनिक गर्दै स्पष्टिकरण मागेको छ । आयोगले एक वर्षको आयव्यय नबुझाउने ३६, कानुनको म्यादभित्र वार्षिक प्रतिवेदन नबुझाउने ३७, तीन वर्ष लगातार आयव्यय नबुझाउने २० दलको नाम सार्वजनिक गरेको हो ।
लगातार तीन वर्ष विवरण नबुझाउने दल खारेज हुने कानुनी व्यवस्था छ । बाँकी ७३ दल भने जरिवाना तिरेको खण्डमा खारेजीमा पर्नबाट जोखिन सक्छन् ।
आयोगले दलहरुलाई सफाइ पेस गर्न १५ दिनको समय दिएको छ ।
तीन वर्षसम्म आयव्यय नबुझाउनेमा नेपाल रिपब्लिक पार्टी, डेमोक्रेटिक नेपाल रिपब्लिकन पार्टी, नेपाल जनएकता पार्टी, समाजवादी जनएकता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, राष्ट्रिय लोकतान्त्रिक गान्धीवादी पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, बहुजातीय समावेशी पार्टी छन् ।
त्यसैगरी निर्वाचन प्रयोजनका लागिमात्र दर्ता भएका नवनेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी, तराई–मधेस–पहाड–हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ओम सेना नेपाल, नवजनवादी मोर्चा, नेपाल कम्यूनिस्ट पार्टी (संयुक्त मार्क्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल दलित श्रमिक मोर्चा, नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत) खारेज हुँदैछन् । –नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्