
काठमाडौं, असार २४ । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओली एक्लै थिए भन्दा पत्यार नलाग्न सक्छ । तर बिहीबार संसद परिसर नयाँ बानेश्वरमा त्यस्तै पत्याउन नसकिने दृष्य देखियो ।
बिहीबार मध्यान्ह १२ बज्दै थियो । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरको मुल गेटमा प्रधानमन्त्री ओली एक्लै देखिए । त्यहाँ प्रधानमन्त्री देख्नासाथ झुम्मिने कुनै सांसद थिएनन् । प्रधानमन्त्री ओलीका सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमात्र थिए, उनीसँग ।
दक्षिण गेटमा एक्कासि साइरन बजाउँदै सुरक्षाकर्मीको गाडी पछिपछि रहेको ट्राफिक प्रहरीले मोटरसाइकल हुइक्याउँदै संसद परिसर प्रवेश गर्न थाल्यो । गेटका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भने प्रधानमन्त्रीको सवारी देखेर अक्मकिए । तर उनीहरुमा रोक्न सक्ने साहस देखिएन ।
एस्कर्टिङको गाडी हुइकिदै आएकाले गेट खोल्न बाध्य भए । एस्कर्टिङको गाडीसहित प्रधानमन्त्री ओली पनि सुरक्षाकर्मीसहित संसद परिसरमा प्रवेश गरे ।
प्रधानमन्त्री सदा झैं उच्च मनोवलका साथ टकटक भित्र जान थाले । उनी भित्र जान लाग्दा सधैंजसरी सल्युट हान्ने मर्यादापालक थिएनन् त्यहाँ । तै पनि उनी भित्र जान लागे । तर गेट बन्द थियो ।
त्यसपछि दाहिने कोटको खल्तीबाट मोबाइल झिकेर उनले कसैलाई टेलिफोन सम्पर्क गरे । उनी फर्किएर पुनः आफू सवार गाडीभित्र प्रवेश गर्न लम्किए ।
बिहीबार इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । गृहमन्त्रालयले सूचना जारी गरेर नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि संसदले पनि पूर्वकार्यसूची हटाइ बिहीबार बैठक राखेको थिएन । तर सो विषयमा प्रधानमन्त्री ओलीलाई कसैले पनि जानकारी दिएको रहेनछ । सोही कारण उनी पूर्व घोषित कार्यसूचीअनुसार संसद पुगेका रहेछन् । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्