१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


चिनियाँ राष्ट्रपतिलाई बोलाउन पहल


0
Shares

काठमाडौं, असार २४ । तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कुटनीतिज्ञ र सुरक्षा निकायले गरेको कुराकानी मेल खाए केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ ।

चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन । यद्यपि आफ्ना कुनै उच्च नेतृत्वले यसै वर्ष (सन् २०१६) नेपाल भ्रमण गर्ने चीनले बताइसकेको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नुपर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास वैरागी पनि त्यहाँको कुटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्किएका छन् ।

नेपालको राजनीतिक अवस्था स्थिर रहेमा आगामी असोजमा राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने लगभग निश्चित रहेको चिनियाँ सन्देश वैरागीले राजनीतिक नेतृत्वलाई सुनाएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन केही साताअघि कुनमिङ एक्स्पोमा जाँदा चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गरेका थिए । चीनले आफ्ना कुनै उच्च नेतृत्वले नेपाल भ्रमण गर्ने भनेकोमा राष्ट्रपति सी नभए प्रधानमन्त्री खछ्याङ आउन सक्ने सम्भावनासमेत रहेको स्रोतले उल्लेख गर्‍यो । –कान्तिपुर दैनिकबाट