
फाइल फोटो
रमेश लम्साल/ज्ञानेन्द्र न्यौपाने (रासस)
काठमाडौं, असार २४ । मनसुनका कारण यातायात आवागमनमा समस्या भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ ।
सिमेन्ट, रड, इन्धन जस्ता सामग्री आयातमा समस्या भएपछि पूर्णक्षमतामा काम गर्न गाह्रो भएको ती आयोजनाले जानकारी दिएका छन् । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको छ ।
यस्तै, स्याफ्रुबेसीखन्डमा पहिरो गएका कारण निर्माण सामग्री आयातमा समस्या भएको छ । सान्जेन जलविद्युत् आयोजनाका प्रमुख गिरिराज अधिकारीले आयोजना निर्माणमा समस्या नआएपनि निर्माण सामग्री आयातमा अवरोध भएको बताए ।
‘सुरुङ निर्माण तथा अन्य भौतिक पूर्वाधारको कामलाई विशेष जोड दिएका छौं’–उनले भने ।
सान्जेन १४.८ मेगावाट क्षमता तथा तल्लो सान्जेन ४२.५ मेगावाट क्षमताको आयोजना हो । सान्जेनको करिब ५० प्रतिशत बढी निर्माणकार्य सम्पन्न भइसकेको छ ।
यस्तै, एक हजार ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनालाईसमेत निर्माण सामग्री अभाव भएको छ ।
बाढी–पहिरोका कारण सडक अवरुद्ध हुँदा निर्माण सामग्री आयात गर्न नसकिएको आयोजनाले जनाएको छ ।
पासाङल्हामु राजमार्गअन्तर्गत् मूलखर्क, सानु भार्कु र खोपाङको भीर दुराअवस्थामा रहेको छ ।
रसुवाका नागरिक अगुवा बाबुलाल तामाङकाअनुसार नेपाल–चीनको व्यापारिक नाकाको बीचभागमा पर्ने राम्चे गाविस– १ र स्यापु्र गाविस– ४ सानोभार्कु तथा खोपाङभीरको राजमार्गमा समस्या भएको छ ।
दिनानुदिन सडक जीर्ण हुँदै गएकाले त्यसलाई व्यवस्थित गर्न डिभिजन सडक कार्यालय नुवाकोटलाई आग्रह गरिएको छ ।
डिभिजन कार्यालयले अवरुद्ध सडक खुलाउने विषयमा पहल गरिरहेको भएपनि भूकम्पले चिराचिरा परेको पहाडमा पहिरो आउनेक्रम रोकिएको छैन ।
दैनिक सरदर रु एक करोडभन्दा बढी राजस्व संकलन हुने सडकको उक्त खण्डमा सवारी–साधन सन्चालनमा ल्याउन असहज भइरहेको छ ।
सवारीचालक दैनिक हैरानी खेप्न बाध्य छन् । कतिपय सवारी–साधन पहिरोको बीचभागमा बिग्रिएर बाटोमै थन्किएका छन् ।
समस्यालाई गम्भीरतापूर्वक लिइ यातायात नियमित गराउन रसुवाबासीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
काठमाडौंबाट छुटेका सवारी–साधन मूलखर्क क्षेत्रमा रोकिनुपर्छ भने कतिपय सवारी–साधन फर्काएर कालीकास्थान बास बस्नुपर्ने बाध्यता छ । कुन बेला कहाँ पहिरो खस्छ भन्ने चिन्ताले चालकलाई त्रसित बनाएको छ ।
मालबहाक ट्रक, बस र बिरामी बोक्ने एम्बुलेन्स चलाउन समस्या भएकाले मर्मत–सम्भारका लागि पासाङल्हामु बस व्यवसायी समितिले आग्रह गरेको छ ।
सडक मर्मत गर्न नेपाली सेनालाई आग्रह गरिने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीले बताए ।
यस्तै, रसुवाको लिङलिङको भीरमा ढुंगा झर्नेक्रम निरन्तर जारी रहेका कारण रसुवागढी आयोजनाको निर्माणमा समस्या भएको छ ।
रसुवाढी नाकामा पहिरो खस्दा तीन दर्जनभन्दा बढी सवारी–साधनमा क्षति पुगेको छ । केरुङबाट सामान आयात गरेर रोकिएका ट्रक तथा कन्टेनरमा क्षति पुगेको हो ।
यस्तै, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सामग्री आयातमा समस्या भएको छ ।
आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले सिमेन्ट, रड, पेनस्टक पाइप आयातमा समस्या आएको बताए ।
नारायणगढ–मुग्लिन सडकखन्ड र सुनकोसीको पुलमा अवरोध हुँदा निर्माण सामग्री ढुवानी गर्न नसकिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्