अमानवीयकार्य गर्नेलाई कडा कारबाही : आपूर्तिमन्त्री « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


अमानवीयकार्य गर्नेलाई कडा कारबाही : आपूर्तिमन्त्री


0
Shares

काठमाडौं, असार २५ । आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले गरिरहेको बजार अनुगमनको विशेष अभियान देशव्यापीरुपमा सन्चालन गरिने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पुनले जनतालाई गुणस्तरहीन खाद्यपदार्थ खुवाउनेजस्ता जानिजानी अमानवीयकार्य गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने बताए ।

अनुगमन जनयुद्ध जत्तिकै कठिन रहेकोसमेत उनले बताए ।

यो अनुगमन नियमित अनुगमन नभइ विशेष अनुगमन भएको र अब एउटा निश्चित प्रणालीको विकास गरेर कारबाही प्रक्रिया अगाडि बढाउने पनि उनले उल्लेख गरे ।

उनले अनुगमनमा दोषी पाइएकालाई कारबाही नगर्ने निकायलाईसमेत कारबाही गरिने दाबीसमेत गरे ।

मन्त्री पुनले हाल फितलो रहेको कानुन र कतिपय अन्तरमन्त्रालय समस्यालाई समाधान गर्दै एकीकृत अभियानको थालनी गर्ने जिकिर गरे ।

अनुगमन एउटा मन्त्री वा मन्त्रालयलेमात्र सम्पन्न गर्न नसक्ने र यसका लागि उपभोक्ता एवं सरोकारवालासमेतको साथ चाहिनेमा पनि उनले जोड दिए ।

नेपाली कांग्रेसका नेता विष्णुप्रसाद धितालले व्यापारीहरुलाई पूर्वजानकारी दिएर बजारको अनुगमन गरेर मन्त्रीले चर्चामात्रै कमाउने योजना बनाएको आरोप लगाए ।

उनले वर्तमान सरकार चिर निद्रामा सुतेकाले मुलुकमा बेथिति र भ्रष्टाचार मौलाएको आरोप लगाउँदै बजारलाई मर्यादित बनाउने हो भने चर्चा कमाउनेभन्दा पनि कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने सुझाव दिए ।