
फाइल फोटो
काठमाडौं, असार २५ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्धरुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्णक्षमतामा कार्यान्वयन गरिने बताएका छन् ।
व्यवस्थापिका–संसदको विनियोजन विधेयक, २०७३ अन्तर्गत् भौतिक पूर्वाधार तथा यातायातको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ शनिबार दिँदै उनले भौतिक पूर्वाधारको विकासका लागि पाँच वर्षे रणनीतिक योजना अगाडि सारेर त्यसलाई संस्थागत् गर्ने प्रयास गरेको बताए ।
सरकारले उत्तर–दक्षिण कोरिडोर, कर्णाली करिडोर, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, रसुवागढी–गल्छी सडक पूरा गर्दै नेपाल–भारत जोड्ने महत्वपूर्ण सडकखन्डलाई ६ लेनको बनाइने, काठमाडौं– निजगढ द्रुतमार्गलाई आगामी पाँच वर्षभित्र सम्पन्न गरिने उनको भनाइ छ ।
सवारी–साधनलाई आगामी आर्थिक वर्षभित्र ‘इम्बोस्ड’ नम्बर उपलब्ध गराइने उल्लेख गर्दै उनले सम्भाव्यता भएका क्षेत्रमा केवलकार निर्माण गर्न सहज वातावरण बनाइने र सहज सडक सन्जाल निर्माण गर्न सबै साधन र स्रोतको प्रयोग गरिने स्पस्ट पारे ।
काठमाडौं उपत्यकामा एक हजार २९८ योजना अगाडि बढेको जानकारी दिँदै उपप्रधानमन्त्री गच्छदारले ठूला योजनालाई समयमै सम्पन्न गर्ने र साना आयोजनालाई स्थानीय निकायको सहयोगमा सम्पन्न गरिने, नागढुंगा–नौबिसे क्षेत्रमा सुरुङमार्ग निर्माण सुरु गर्न परामर्शदाता चयन गरिन लागेको जानकारी दिए ।
कर्णाली राजमार्गलाई स्तरोन्नति गर्दै सो राजमार्गका पुल निर्माण गरिने र कालोपत्रे गरिने जानकारी दिँदै उनले ‘अन्य राजमार्गको मर्मत–सम्भारलाई व्यवस्थितरुपमा अगाडि बढाउने र चार लेनको बनाउनेतर्फ ध्यान दिइएको छ’–भने ।
अरनिको राजमार्ग, धुन्चे–रसुवागढी राजमार्ग सडक पुनःनिर्माण तथा स्तरोन्नतिको काम सुरु भएको भन्दै उनले सडक तथा पुल निर्माणका कामलाई जारी राख्दै हुम्ला सदरमुकाम जोड्ने सडक निर्माणलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै आगामी दुई वर्षभित्र डोल्पा सदरमुकामलाई सडक सन्जालमा जोडिने मन्त्री जानकारी दिए ।
काठमाडौं–तराई द्रुतमार्ग निर्माण गर्ने लक्ष्य सरकारले राखेको भन्दै उनले सो परियोजनाका लागि रु १० अर्बको बजेट वक्तव्यमा नै उल्लेख गरिएको र हेटौंडा–बुधुने सडक सोही मार्गको प्रमुख अंगकारुपमा राखिएको बताए ।
बाढी तथा पहिरो प्रभावित राजमार्गमा ‘हेभी इक्युपमेन्ट’ तम्तयारी हालतमा राखिएको भन्दै उनले नारायणगढ–मुग्लिन सडकखन्डको अर्को किनारामा दुई लेनको सडक निर्माणको प्रक्रिया सुरु गरिने र नारायणगढ–मुग्लिन सडकलाई आगामी आवभित्र चार लेनको बनाइने स्पस्ट पारे ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक सडक र एउटा पुलको योजनालाई न्यूनतमरुपमा अगाडि बढाइने र काठमाडौं उपत्यकाभित्र बाहिरी चक्रपथ निर्माण प्रक्रिया सुरु गर्न चीन सरकारसँग सहयोगका लागि आग्रह गरिएको बताए ।
सांसदहरु कृपासुर शेर्पा, रामकृष्ण यादव, पार्वती चौधरी डिसी, अमरसिंह पुन, गुरुप्रसाद बुर्लाकोटी, डिल्लीप्रसाद काफ्ले, तारामान गुरुङ, आदित्यनारायण कशौधन, अमरबहादुर थापा, हरिप्रसाद नेपाल, बुद्धिराम भण्डारी, भरतबहादुर खड्का, तुलसा राना, ओङ्दी शेर्पा, ओफीलाल ओखेडा, दीर्घराज भाट, प्रकाश शर्मा पौडेल, चूडामणि विक जंगली, तेलुलाल चौधरी, दीलमान पाख्रिन, प्रेम सुवाल, रामेश्वर फुयाँललगायतले उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टीकरण मागेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्