Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त यादबले आज सपथ लिने


0
Shares

काठमाडौं, असार २७ । प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिँदै छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्की र यादवलाई सपथ दिलाउने छिन् । राष्ट्रपतिबाट सपथ लिएसँगै सर्वोच्च अदालतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने छ

यसअघि, आइतबार संसदीय विशेष सुनुवाई समितिले प्रधान न्यायाधीशमा कार्कीको नाम अनुमोदन गरेको थियो ।

समितिको बैठकमा कार्कीले आफूविरुद्ध परेका उजुरी र गुनासोबारे स्पष्ट पारेपछि सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

समितिमा परेका उजुरीबारे जवाफ दिँदै कायममुकायम प्रधान न्यायाधीश कार्कीले जोसुकै पनि कानुन र संविधानभन्दा बाहिर जान नमिल्ने बताइन् ।

संविधानको पालना गर्नु सबैको दायित्व भएको भन्दै उनले न्यायालयका लागि संविधान गीता कुरान र बाइबल जस्तै हो भनिन् ।

एमालेकी पूर्व सभासद एवं बरिष्ठ अधिवक्ता सपना प्रधान मल्ललाई न्यायाधीशमा सिफारिस गरिएको सम्बन्धि जिज्ञासामा कार्कीले अदालतमा राजनीतिक भावना प्रकट हुन नहुने बताईन् ।

सांसदहरुले न्यायपालिकाप्रतिको आस्था र बिश्वास बढाउनुपर्ने, फैसलाको पूर्ण पाठ लेख्न ढिला गर्न नहुने जस्ता सुझाव दिएका थिए ।