१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


यस्तो छ प्रधानन्यायाधीश सुशीला कार्कीको जीवनी


0
Shares

                                                                               फाइल फोटो

कालिका खड्का (रासस)

काठमाडौं, असार २७ । इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार (आज)बाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छन् ।

प्रधानन्यायाधीशकारुपमा उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेकी हुन् ।

सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कार्कीलाई गत चैत २८ गतेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

व्यवस्थापिका–संसदको संसदीय सुनुवाइ विशेष समितिले आइतबार सो सिफारिस सर्वसम्मत् अनुमोदन गरेको थियो ।

सो समिति गठन नहुँदा सुनुवाइमा ढिलाइ भएकाले उनले कामु प्रधानन्यायाधीशकारुपमा झन्डै तीन महिनादेखि जिम्मेवारी सम्हालेकी थिइन् ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ गत वैशाख १ गते उमेरहदका कारण अवकाश भएपछि वरिष्ठता, क्षमता र योग्यताका आधारमा कार्की प्रधानन्यायाधीश भएकी हुन् ।

कार्कीको जन्म २००९ जेठ २५ गते शंखरपुर–३ विराटनगरमा भएको हो । उनले प्रधानन्यायाधीशकारुपमा करिब ११ महिना कार्य गर्नेछन् ।

उनले महेन्द्र मोरङ कलेज, विराटनगरबाट २०२८ बीए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छन् ।

उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बीएल) गरी कानुनी यात्रा सुरु गरिन् ।

अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोकारुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन् ।

उनले तीन वर्ष (२०४२–२०४५) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् ।

वि.सं. २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी थिइन् ।

अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरिसकेकी सुशीला नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छन् ।

प्रधानन्यायाधीश सुशीलाले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरिन् भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिन् ।

निडर स्वभाव र सरल जीवनशैली अपनाउने सुशीला न्याय क्षेत्रमा स्वच्छ छवियुक्त मानिन्छन् ।

नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्चपदमा पुग्न सफल भएका छन् ।

राष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश कार्की र सभामुख ओनसरी घर्तीलाई सो अवसर मिलेको छ ।