Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


माओवादीका मन्त्री सरकारबाट फिर्ता, यस्तो छ दाहालले ओलीलाई पठाएको पत्र


0
Shares

काठमाडौं, असार २८ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

एमालेसँग भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकार तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जनाएको हो ।

वतर्मान सरकारबाट समर्थन फिर्ता लिइएको पत्रमा ‘पूर्वसहमति कार्यान्वयन गर्न सरकार तयार नभएको हुँदा पार्टी अब यस सरकारमा सहभागी रहिरहन राजनीतिकरुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट फिर्ता लिएको’ उल्लेख छ ।

माओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएको जानकारीसमेत प्रधानमन्त्री ओलीलाई गराएको छ ।

पत्रमा अध्यक्ष दाहालले पार्टीको सो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

सत्ता साझेदार दुई दलबीच गत वैशाख २३ गते ९ बुँदे सहमति भएको थियो ।

पत्रमा संविधान कार्यान्वयन गर्न, संक्रमणकालीन न्यायलगायत शान्ति–प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, तराई–मधेसमा भएको आन्दोलन एवं थारूलगायत सबै आदिबासी, जनजाति र सरोकार भएकाहरुको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको पार्टीको धारणा रहेको जनाइएको छ । रासस