उद्योग–व्यवसायसम्बन्धी ऐन लगानीमैत्री हुनुपर्नेमा सरोकारवालाहरुको जोड « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


उद्योग–व्यवसायसम्बन्धी ऐन लगानीमैत्री हुनुपर्नेमा सरोकारवालाहरुको जोड


0
Shares

काठमाडौं, असार २८ । उद्योग–व्यवसायसम्बन्धी ऐन औद्योगिक क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनसक्ने खालको हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मंगलबार राजधानीमा उद्योग मन्त्रलायल र नेपाल उद्योग वाणिज्य महासंघले गरेको ‘औद्योगिक व्यवसाय सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’सम्बन्धी छलफलमा ऐन समयसापेक्ष हुनुपर्नेमा जोड दिइएको हो ।

उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले औद्योगिक व्यवसाय ऐन २०४९ मा पर्याप्तता नभएको सुझावका आधारमा नयाँ कानुन बनाउन लागिएको बताए ।

उनले परिवर्तित नयाँ परिस्थितिलाई सम्बोधन गर्न एवं उद्योगीहरुलाई उद्योगमा थप आकर्षण प्रदान गर्न नयाँ कानुनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उद्योगी–व्यवसायीले नयाँ ऐनको मस्यौदाको विभिन्न बुँदामा परिवर्तनको लागि सुझाव पेस गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग दर्ताको प्रक्रिया छोटो बनाउनुपर्ने, सामाजिक उत्तरदायित्वको नाममा व्यवसायीहरुलाई थप भार दिन नहुने एवं सजिलोसँग उद्योग बन्द गर्न पाउनुपर्ने व्यवस्था नयाँ ऐनमा राख्न सुझाव दिए ।

उनले दर्ता प्रक्रिया लामो भएमा एवं सजिलोसँग उद्योग बन्द गर्ने प्रावधान नभएका विदेशी लगानी आकर्षित गर्न नसकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निर्यातजन्य उद्योगलाई अझ सेवा–सुविधाको व्यवस्था गर्नुपर्ने माग गरे ।

उनले सरकारले जरिवानाबाट राजश्व संकलन गर्ने उद्देश्य राखेको आरोप लगाए । जरिवाना तिर्न नपर्ने अवस्था राज्यले सिर्जना गर्नुपर्ने सुझाव उनले दिए ।

नेपाल सरकारका पूर्वउद्योगसचिव भरतबहादुर थापाले नयाँ कानुन संघीय प्रणालीअनुरुपको हुनुपर्ने बताए ।

उनले हाल स्वदेशी एवं विदेशी कुनैपनि लगानी आकर्षित गर्न नसकिएको अवस्थामा दुबैलाई आकर्षित गर्ने वातावरण ऐनले बनाउनुपर्ने धारणा राखे ।