२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


अविश्वास प्रस्तावको डटेर सामना गर्ने मन्त्रिपरिषदको निर्णय


0
Shares

काठमाडौं, असार ३१ । सरकारले अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान परिस्थितिको सामना गर्दै संविधान बमोजिम अगाडि बढ्ने निर्णय गरेको हो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेमा झुठा विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक मतवा, नन्दकिशोर, रामानन्द र रामचरित्र कुर्मीको नेपाली नागरिकता ऐन बमोजिम नागरिकता रद्द गर्ने निर्णय गरेको छ । नागरिकता प्रदान गर्ने व्यक्तिलाई छानविन गरी कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले गुगल ब्वाईका नामले परिचित आदित्यको नाममा स्थापित प्रतिष्ठानको आवास, साधना केन्द्र स्थापना र अन्य भौतिक सेवा उपलब्ध गराउन एक करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले लगानी बोर्डको सदस्यमा भवानी राणा र राजेशकाजी श्रेष्ठलाई नियुक्त गरेको छ भने न्याय सेवाको विशिष्ट श्रेणीमा बढुवा भएका मणीराम गोल्छालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरेको छ । त्यसैगरी ऋण असुली न्यायाधीकरणको सदस्यमा मानबहादुर परियारलाई नियुक्त गरेको छ ।

पाटन स्वास्थ्य सेवा प्रतिष्ठान ललितपुरलाई आधुनिक उपकरण खरिद गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।